हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाका जनप्रतिनिधिहरूले प्रदेश सरकारले बजेट वितरण गर्दा स्थानीय तहको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
शनिवार बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गङ्गादत्त नेपालसँगको छलफलमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरूले प्रदेश सरकारले साना र अव्यवस्थित योजनाहरूमा बजेट छुट्याउँदा स्थानीय तहमा प्रभावकारी विकास हुन नसकेको गुनासो गरे।
गाउँपालिका अध्यक्ष धर्मराजा लामिछानेले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीजस्ता पूर्वाधारमा अझै अपुग रहेको बताए। उनले कृषि क्षेत्रमा प्राथमिकता दिँदै बकैयामा उत्पादित तरकारी विदेश निर्यातका लागि तयारी भइरहेको जानकारी दिए। पशुपालनबाट तीन करोड रुपैयाँको दूध बिक्री भइसकेको र आगामी दिनमा प्राङ्गारिक मल उत्पादनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
बकैया-५ की अध्यक्ष लक्ष्मी जिम्वाले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताइन् भने बकैया-४ का कार्यवाहक अध्यक्ष विजय भ्लोनले सिमात खोला कटानको समस्या तत्काल समाधान गर्न प्रदेश सरकारको पहल आवश्यक रहेको औंल्याए। बकैया-२ का अध्यक्ष विश्वराज स्याङ्तानले सडक अभावले गाउँपालिका केन्द्रसम्म पुग्न मधेस प्रदेश हुँदै लामो दूरी पार गर्नुपर्ने बाध्यता रहेको बताए।
बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गङ्गादत्त नेपालले स्थानीय तहले आफ्ना आवश्यकता पहिचान गरी योजनाहरू प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले आयोजना बैंक सञ्चालनको तयारी गरिरहेको र त्यसमा डिपिआर तथा सम्भाव्यता अध्ययनबिनाका योजनाहरू समावेश नहुने स्पष्ट पारे।
स्थानीय तहका जनप्रतिनिधिहरूले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा विपद् व्यवस्थापनका योजनामा दीर्घकालीन सोचअनुसार बजेट वितरण हुनुपर्ने माग गर्दै प्रदेश सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्।