हेटौडा | हेटौडा उपमहानगरपालिकाको वडा नंबर १७ ले आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ। घोषणा कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष उद्धव सत्यालले २०८१ भाद्र ७ गते घोषणा गर्न लागिएको बताए ।
“बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ हुने यस कार्यक्रममा वडालाई निकृष्ट बालश्रम मुक्त र बाल विवाह मुक्त पनि घोषणा गरिने अध्यक्ष सत्यालले बताए।
१५.०२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस वडामा २१ सय १० जना पाँच वर्षमुनिका बालबालिका छन्, जसमध्ये ४६.४५ प्रतिशत बालिका र ५३.५५ प्रतिशत बालक रहेको अध्यक्ष सत्यालले बताए । वडामा ६ वटा विद्यालय, २२ वटा बाल समूह र एउटा वडा बाल सञ्जाल सक्रिय छन्, जसमा ५ सय ५० भन्दा बढी बालबालिका आबद्ध रहेका छन् ।
वडा अध्यक्ष सत्यालले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरूमध्ये ४८ वटामा शतप्रतिशत नतिजा हासिल गरिएको र बाँकी तीन सूचकहरूमा पनि उल्लेख्य प्रगति बताए ।
“आजका बालबालिका भोलिका कर्णधार मात्र होइनन्, उनीहरू आजैका साझेदार हुन्,” सत्यालले भने। “हामीले उनीहरूलाई सही मार्गदर्शन, उचित वातावरण र जीवनोपयोगी शिक्षा दिनुपर्छ।”
घोषणा कार्यक्रम शुक्रबार बिहान १० बजे प्रभातफेरीबाट सुरु हुनेछ। त्यसपछि वडा परिक्रमा गरी नेपाल चौर टोल विकासको फुटसल हलमा औपचारिक घोषणा समारोह हुने अध्यक्ष सत्यालले जानकारी दिए ।