Sunday, March 16, 2025
मकवानपुरकैलाश गाउँपालिकाचेपाङ समुदायका ६ परिवारलाई आफ्नै घर

चेपाङ समुदायका ६ परिवारलाई आफ्नै घर

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायका ६ परिवारले अब आफ्नै घर निर्माण गर्न पाउने भएका छन्। बागमती प्रदेश सरकारको चेपाङ आवास कार्यक्रम अन्तर्गत सोमवार उनीहरूसँग औपचारिक सम्झौता गरिएको छ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठकले लाभग्राहीका रूपमा चयन भएका ६ जना चेपाङ परिवारसँग सम्झौता गरेको हो। प्रदेश सरकारले चेपाङ, वनकरिया, बोटे, माझी समुदायलाई लक्षित गरी एकीकृत बस्ती तथा आवास कार्यक्रम सञ्चालन गरिरहेको छ। सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष मुक्तानले लाभग्राहीहरूलाई तोकिएको मापदण्ड अनुसार घर निर्माण गर्न र समयमा निर्माण सम्पन्न गर्न आग्रह गरे। “राज्यले घर बनाउनका लागि लगानी गरेको छ। यो अवसर गुम्न नदिई आफ्नै स्थायी बसोबासका लागि सदुपयोग गर्नुहोस्,” मुक्तानले भने।

प्रदेश सरकारले निर्देशिका बनाएर आवास निर्माण योजना अघि बढाइरहेको छ। चालु आर्थिक वर्षमा कैलाश गाउँपालिकाका वडा नम्बर ३ र ४ का गरी ६ जनालाई छनोट गरिएको छ। यसअघि, गत वर्ष २५ जना लाभग्राहीले सम्झौता गरिसकेका थिए।

गाउँपालिकाका फोकल पर्सन सुर्दशन दवाडीका अनुसार लाभग्राहीहरूले १२/१२ फिटको दुई कोठे घर निर्माण गर्नुपर्नेछ। साथै, सम्झौताअनुसार शौचालय पनि अनिवार्य रूपमा निर्माण गरिनुपर्नेछ। सरकारले तीन किस्तामा ३ लाख ८४ हजार रुपैयाँ अनुदान प्रदान गर्नेछ, जसअनुसार पहिलो किस्ता भवनको जग खन्दा, दोस्रो किस्ता सिल लेबलसम्म निर्माण गर्दा र अन्तिम किस्ता पूर्ण निर्माणपछि उपलब्ध गराइनेछ।

 

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img