हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण गरिरहेको छ । यी पुलहरुको निर्माण रणनीतिक योजनाअन्तर्गत विभिन्न वडाहरुलाई जोड्न गरिएको हो ।
चालु आर्थिक वर्षमा पालिकाले ३ वटा पक्की पुल निर्माण सम्पन्न गरिसकेको छ भने अन्य २ वटा निर्माणको अन्तिम चरणमा छन् । शनिबार बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँले तीनवटै नयाँ पुलको उद्घाटन गर्नुभयो ।
साविकको हाँडीखोला गाविसका स्थानीयहरुले पक्की पुलको अभावमा वर्षायाममा हेटौँडासँग सम्पर्कविहीन हुनुपर्ने समस्या भोग्दै आएका थिए । नयाँ पुलहरु निर्माण भएसँगै यो समस्याको अन्त्य भएको छ ।
पुलहरुको विवरण र लागत
- मनहरी-३ र ४ नम्बर वडा जोड्ने ६४.१५ मिटर लामो पुल (लागत ६ करोड ४९ लाख ६० हजार रुपैयाँ)
- वडा ४ र ३ को गोलघर र मिलडाँडा जोड्ने ७४.५५ मिटर लम्बाइको डबल स्पान पुल (लागत ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँ)
- वडा १ र २ को पार्ता र च्यापल जोड्ने ९७ मिटर लामो ट्रिपल स्पान पुल (लागत ६ करोड २८ लाख ९८ हजार रुपैयाँ)
गाउँपालिकाले दुईवटा अन्य पुल निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । ठाडोखोला पुल ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत काम सम्पन्न भइसकेको छ । यी पुलहरुको निर्माण आगामी मंसिरसम्म पूरा गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभएको छ ।
मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ लागतमा यी ५ वटा पक्की पुल निर्माण गरिरहेको छ ।