पोखरा- गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवाना १० हजार पुर्याएको छ। यसअघि यस्तो जरिवाना दुई हजार रुपैयाँ मात्र रहेकामा हालसालै बढाइएको हो।
यसैगरी, मिटरमा नचल्ने ट्याक्सीको दर्ता इजाजत ६ महिनासम्म निलम्बन गर्ने व्यवस्था पनि गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेमबहादुर जुग्जालीका अनुसार ट्याक्सी व्यवसायी मिटरमा चलाउन सहमत भएपनि वास्तविक अवस्था भने फरक रहेको बताए।
उनका अनुसार, छड्के जाँचमा ८५ प्रतिशत ट्याक्सी चालकले मिटर अन गर्ने तर भाडा भने बढी लिने गरेको पाइएको छ। अब मिटरमा नचल्ने ट्याक्सीलाई कडा कारबाही गरिने र साथै राइड सेयरिङ सेवालाई पनि विकल्पको रूपमा अघि बढाइने उनको भनाई थियो ।