पोखरा | तनहुँकी एक नाबालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एक जना भारतीय नागरिक समेत रहेका छन्।
प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माका अनुसार, असार १७ गते बिहान तनहुँको म्याग्दे गाउँपालिकाबाट नाबालिकालाई फकाएर पोखरा ल्याइएको थियो। आरोपीहरूले पीडितलाई मोटरसाइकलमा राखेर पोखरा महानगरपालिका ११ रानीपौवास्थित एक कोठामा लगेका थिए, जहाँ उनीहरूले सामूहिक बलात्कार गरेको आरोप छ।
पक्राउ पर्नेहरूमा धनुषाका २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार प्रदेशका १९ वर्षीय सुनिल कुमार रहेका छन्। प्रहरीले उनीहरूलाई पोखरा महानगरपालिका ३० पावरहाउसबाट पक्राउ गरेको हो।
कास्की जिल्ला अदालतले आरोपीहरूविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा ८ दिनको म्याद दिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।