म्याग्दी | म्याग्दी जिल्ला निकट भविष्यमै ‘उज्यालो जिल्ला’ घोषणा हुने तयारीमा छ। जिल्लाका ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगिसकेको तथ्याङ्कले म्याग्दीलाई यो उपाधि दिलाउन लागेको हो। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार यो ऐतिहासिक उपलब्धि गण्डकी प्रदेश सरकारको मापदण्ड अन्तर्गतको अन्तिम चरणमा पुगेको छ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर झलकमोहन ओझाका अनुसार म्याग्दीका प्रत्येक घरधुरीमा केन्द्रीय लाइन, लघु जलविद्युत् वा सौर्य ऊर्जाको पहुँच पुगेको छ। “राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयको सर्वेक्षणले पनि यो पुष्टि गरेको छ,” ओझाले भने। स्थानीय तहको सक्रियतामा तथ्याङ्क पुस्ट्याइँ गरिसकेपछि उज्यालो जिल्ला घोषणा गर्ने काम अगाडि बढ्नेछ।
धवलागिरि गाउँपालिका–१ गुर्जा जस्ता विकट स्थानबाहेक अन्य सबै क्षेत्रमा चालु आर्थिक वर्षभित्र केन्द्रीय प्रशारण लाइन पुर्याउने लक्ष्य राखिएको छ। गुर्जाका २५० घरधुरीमा हाल लघु जलविद्युत् परियोजनाको सुविधा छ।
म्याग्दीमा हाल २८ हजार आठ सय ३० घरपरिवारमध्ये ९५.१ प्रतिशतले बिजुलीको सुविधा लिएका छन्। तीन दशमलव चार प्रतिशतले सोलार र ०.५ प्रतिशतले मट्टितेल प्रयोग गर्ने गरेका छन्। बाँकी घरधुरीले बायोग्यास र अन्य माध्यम अपनाएका छन्।
धवलागिरि गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका १२० घरमा र मालिका गाउँपालिकाको जेमका १०० घरमा प्रदेश सरकारले ७५ प्रतिशत अनुदानमा सौर्य ऊर्जा जडान गरिसकेको छ। ती मध्ये अधिकांश बस्तीहरू अहिले केन्द्रीय लाइनको विद्युत्को पहुँचमा आइसकेका छन्।
गण्डकीको ‘उज्यालो प्रदेश’ कार्यक्रमको प्रभाव
गण्डकी प्रदेश सरकार स्थापना भएदेखि नै विद्युत् विस्तारको काम तीव्र गतिमा भइरहेको छ। केन्द्रीय लाइन नपुगेका दुर्गम स्थानमा लघु जलविद्युत् परियोजना र सौर्य ऊर्जा जडान गर्ने योजना प्रभावकारी बनेका छन्।
नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका अनुसार २०८०-८१ मा मात्र १,४०० घरमा नयाँ केन्द्रीय लाइन जडान भएको छ। यसैगरी, २०७९-८० मा १,२३८ र २०७८-७९ मा ७७० घरमा केन्द्रीय लाइन विस्तार भएको थियो।
यो आर्थिक वर्षभित्र मालिका गाउँपालिकाको पात्ले, चिउरीबोट, धवलागिरिको लुलाङ, लमसुङ, खोरिया, नेरवाङ, अर्चे, मल्कवाङ, र रघुगङ्गाको कुइनेमङ्गलेका ६०० घरमा केन्द्रीय लाइन विस्तारको काम अन्तिम चरणमा छ।
२०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत २० करोड रुपैयाँ बजेट विनियोजन गरेर दुई हजार घरधुरीमा विद्युत् विस्तारको योजना सुरु गरिएको थियो। यी प्रयासहरूको नतिजा स्वरूप म्याग्दी उज्यालो जिल्ला बन्ने तयारीमा छ।
अबको केही समयपछि म्याग्दीले आफ्नो नाम उज्यालो जिल्लाका रूपमा गण्डकी प्रदेशमै पहिलो स्थानमा लेखाउन सक्नेछ।