सुनसरी / झापाको मेचीनगर नगरपालिका वडा नम्बर -१४ दुहागढीमा रहेको मगमग चाउचाउ कारखाना आगलागी भएको झण्डै १२ घण्टा पछि नियन्त्रणमा आएको छ ।
मनषा थाईफुड्सले उत्पादन गर्दै आएको चाउचाउ उद्योगमा आज बिहान साढे ४ बजेदेखि उद्योगमा आगो लागेको थियो भने आज बेलुका ४ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । अहिले पनि नियन्त्रणका क्रममा प्लास्टिकतिर झिल्का झिल्लीहरू छुटेको हुन सक्ने हुनाले त्यसका लागि तीन वटा दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण सिङ्गो कारखाना र कारखानाभित्र रहेका कच्चापदार्थ , उत्पादित सामान र मेसिन जलेर पुर्णरूपमा नष्ट भएको उद्योगका सञ्चालन बुद्धि घिमिरे बताए । आगलागीबाट भौतिक संरचना र कच्चापदार्थ , मेसिन लगात उद्योगका बस्तु जलेर नष्ट भएको छ । १ अर्ब रूपैयाँ बराबरको क्षति भएको हुनसक्ने सञ्चालनका घिमिरेले अनुमान गरे पनि यकिन तथ्यांक भने आइसकेको छैन । मनषा थाइफुड्सले चिज बल्स मगमग लगायत चाउचाउ उत्पादन गर्दै आएको थियो ।
आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । ठूलो सङ्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।