इटहरी । प्रदेश १ सरकारले कृषिलाई प्राथमिकतामा राखेर कुल ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ ।
बुधबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् ।
कुल बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान फिर्ता २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, ससर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख, तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खर्च बेहोरिने घोषणा गरियो ।
बाँकी अपुग रकममध्ये नगदबाट ३ अर्ब ५५ करोड र वैदेशिक २५ करोड ६८ लाख रुपैयाँ बेहोरिने मन्त्री आङ्बोले बताए । राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख बेहोरिने मन्त्री आङ्बोले बजेटमा उल्लेख गरे । चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख विनियोजन भएको थियो ।
चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ दशमलव ३४ प्रतिशतले रहने र आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलव ४१ प्रतिशतले वृद्धि हुने लक्ष्य लिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा २ अर्ब ५९ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले किसानलाई दूधमा प्रतिलिटर २ रुपैयाँ किसानलाई अनुदान दिने व्यवस्था गरेको छ । सरकारले साना किसानको बैंकिङ ब्याज अनुदान दिने पनि भएको छ । १० वर्षे कृषिको दीर्घकालीन योजना बनाउने उद्देश्य राखेको प्रदेश सरकारले उन्नत बीउका लागि १३ करोड विनियोजन गरेको छ । प्रदेश सरकारले एकपालिका एक उत्पादन कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ । एकपालिका एक उत्पादन कार्यक्रमका लागि १३ करोड बजेट विनियोजन गरिएको बताए । यस्तै, सरकारले घरेलु मदिरा ब्रान्डिङका लागि बजेट विनियोजन गरेको छ । बजेट विनियोजनका क्रममा घरेलु मदिरा ब्रान्डिङका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उनले उद्योग क्षेत्रको विकासका लागि ३६ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । इटहरी र धरानको गुरुयोजना बनाउन बजेट विनियोजन गरेको र इटहरीको टेंगा खोलालाई बूढीखोलामा मिसाउन अध्ययन गर्न पनि बजेट विनियोजन गरेको आङ्बोले बताए ।
प्रदेश सरकारले प्रदेश १ का लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशभर १ सयवटा झोलुंगे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन भएको छ ।
सिँचाइ, ऊर्जा तथा खानेपानी क्षेत्रका लागि ६ अर्ब ६ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ । यस्तै, पर्यटन प्रवद्र्वनका लागि १ अर्ब १३ करोड ५७ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड बजेट विनियोजन गरिएको छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन् । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि पनि ९० करोड नै विनियोजन गरेको हो । सो रकम स्थानीय तहमार्फत खर्च हुनेछ । जसमा प्रदेश सांसदहरूको समान भूमिका रहनेछ ।
सञ्चार तथा यातायात क्षेत्रमा ३० करोड ५० लाख, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरिएको मन्त्री आङ्बोले जानकारी दिए । यस्तै, वन, वातावरण तथा भू–संरक्षण क्षेत्रका लागि १ अर्ब ३० लाख, कानुन, विपद् व्यवस्थापन तथा मानवअधिकार प्रवद्र्धनका लागि ५७ करोड बजेट विनियोजन गरिएको छ ।



