सुनसरी / प्रदेश १ मा सरकार मन्त्रिपरिषद्को बैठकले सरकारी गाडीबाट दुर्घटनाका कारण घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले बिमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो । प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकूल हुनेगरी यस अघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो ।
मन्त्रिपरिषद् बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय पनि सच्याएको छ । बैठकले मोरङको कटहरीमा रहेको कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावलीको दोस्रो संशोधन प्रस्ताव पारित गरेको छ ।
नियमावलीमा थोक बजारमा लेखा अधिकृतको दरबन्दी रहेकोमा त्यसलाई सच्याउँदै लेखा अधिकृतस्तरको कर्मचारी भन्ने शब्द थप गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी दिए ।
बैठकले प्रदेश भवन निर्माण ऐन कार्यान्वयन गर्न कार्यविधि निर्माणको स्वीकृति दिने निर्णय पनि गरेको छ । प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनाका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ ।