इटहरी । सुनसरीमा छुट्टाछुट्टै घटनामा चारजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्रका कार्कीका अनुसार दुईजनाले छुरा प्रहारबाट ज्यान गुमाएका छन् भने दुईजनाको पोखरीमा डुबेर ज्यान गएको छ ।
जिल्लाको रामधुनी नगरपालिका ६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गएर पेटमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी खटिएर घटनास्थलमा सदालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएपनि उपचारको क्रममा मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए । घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरिएको छ । उनी बालक नै रहेकाले तत्काल नाम, थर, वतन गोप्य राखिएको प्रहरीले जनाएको छ । घटनाको कारण’bout थप अनुसन्धान भइरहेको छ ।
यस्तै, बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीमा छुरा प्रहार गरी एक पुरुषको हत्या भएको छ । प्रहरीका अनुसार सोमबार राति करिब ११ बजेतिर मुनाल चोक बस्ने २५ वर्षीय सबिन तामाङले सोही स्थान बस्ने ४० वर्षीय आशिष दर्जीलाई मादक पदार्थ सेवन गरी छुरा प्रहार गर्दा आशिषको मृत्यु भएको हो । छातिमा छुरा प्रहार भएपछि घाइते दर्जीलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यस्तै, भोक्राहा–नरसिंह गाउँपालिका १ शान्ति चोकका पपुलाल उराउका ५ वर्षीय छोरा आकाश उराउको घर नजिकैको खोलामा डुबेर मृत्यु भएको छ । २६ गते बेलुकादेखि हराइरहेका उनको खोजतलास गर्ने क्रममा बिहान घर नजिकै रहेको खोलामा डुबेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । यस्तै, इनरुवा नगरपालिका २ का ६५ वर्षीय गंगाराम मण्डल २७ गते बिहानदेखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । चारवटै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।