सुनसरी / विराटनगर महानगरपालिका- ८ स्थित जिल्ला कारागार मोरङमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।
ज्वरोले प्रकोपको रूप लिएपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएका कैदी बन्दीको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । उपचाररत १८ जनामध्ये १६ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएसँगै कैदी बन्दीको अत्यधिक चाप रहेको कारागारभित्र कोरोना फैलिएको पुष्टि भएको हो ।
१०० डिग्रीभन्दा बढी ज्वरो आएपछि १९ जनालाई उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो । उपचारका लागि भर्ना गरिएकामध्ये एक जनाको मृत्यु भइसकेको छ । अन्य १८ जनाको आज (शुक्रबार) बिहान एन्टिजेन परीक्षण गरिएको छ ।
कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेललका अनुसार १८ जनाको परीक्षण गरिएकोमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अन्य दुई जनालाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण छ ।
एन्टिजेन पोजेटिभ आएकालाई थप उपचारका लागि कोसी कोभिड अस्पताल रेफर गरिने उनले बताए । एन्टिजेन पोजेटिभ आएकालाई १०२ डिग्रीभन्दा धेरै ज्वरो छ । स्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने सबै खालका लक्षण रहेको छ ।