सुनसरी | धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ , धरानका जनता र प्रदेश १ का विभिन्न जिल्ला जनता सहित धरानमा पानी ल्याउनका लागि श्रमदान गर्न पुगेका छन् ।
चुनाव जितेपछि उनी खानेपानीको सेवा सुधारमा तल्लिन छन् । पकुवा खोलाबाट वर्षायामका लागि भन्दै पानी ल्याइसकेका छन् । अहिले पनि उनी निशानेलगायत अन्य खोला चहार्दै जनतालाई जनश्रमदानमा अघि सार्दै आएका छन् ।
हिजो शनिबार मेयर राईले सर्दु, खर्दु र निशानेको पानी जम्मा गर्न ट्याङ्की निर्माणका लागि धेरै जनता आएर जनश्रमदान गरेका थिए । उनले अहिले निशानेमा इन्टेक निर्माण भइसकेको समेत बताए । उनले जसरी भएपनि धराने जनतालाई पानी खुवाएर छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सयौं धरानबासीको उपस्थिति देखेपछि मेयर साम्पाङले भने ‘अहिले ढुङ्गाभन्दा धेरै मानिसहरु आएको पाएँ’, उनले भने, ‘धराने जनताले स्वतस्फुर्त आएर देखाएको सहानुभूतिप्रति विशेष धन्यवाद छ ।’
मेयर साम्पाङले त्यहाँ नमूनाका लागि सर्दु खोलाबाट बिजुली निकाल्ने आफ्नो योजना रहेको समेत सुनाए । शनिबार नै त्यहाँ बिजुली निकाल्ने प्रोजेक्टको उद्घाटन समेत भएको छ । कार्यक्रममा उपस्थित उपमेयर अइन्द्रविक्रम बेघाले धराने जनता श्रमदानजस्तो महादानमा भित्री मनदेखि लागेको अनभूति गरेको बताए ।
धरानका मेयर साम्पाङले आह्वान गरेको जनश्रमदानमा सयौं जनता आएको पाइएको छ, खोलाको बगरभरी, पाखैभरी जनता देखियो, खोला र बगर श्रमदान गर्नेले नै ढाकेका छन् । यसले धरानको मुहार चाँडै फेरिन्छ जस्तो अनुभूति भएको छ ।
उनले आफूले भूपु सैनिकलाई पनि धरानको विकासँग जोड्नका लागि डाकेको बताए । ‘विशेषत भूपु सैनिककै कारण धरान बनेको हो’, उनले भने, ‘त्यही भएर धरानको विकास सँग भूपु लाहुरेहरुलाई पनि स्वतस्फुर्त जोडिनुहोस् भन्ने आह्वानका लागि यहाँ बोलाइएका थिए ।
धरान – १३ मा अघि बढिरहेको निशाने प्रोजेक्ट, सर्दु, खर्दु र निशानेको पानी ल्याएर जम्मा गर्ने स्थल (करिब २ लाख लिटर अट्ने खानेपानी ट्याङ्की निर्माणस्थल) मा मेयर, उपमेयर अइन्द्रविक्रम बेघादेखि सयौं धराने, भूपु लाहुरेलगायत धरानबासीको उत्साहपूर्ण सहभागिता रहेको थियोे ।