सुनसरी जिल्लाको धरानमा पिकअप र मोटरसाइकल र इनरुवा-दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कोसी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका- ८ विश्वकर्मा मन्दिरनजिक बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ च १६६७ नम्बरको गाडीले साँझ ५ः१५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका–११ का ३१ वर्षीय सुरज दाहालको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी- ११ का सन्तोष दाहाल घाइते भएका छन् । सामान्य अवस्थाका उनको उपचार भइरहेको छ ।मोटरसाइकललाई ठक्कर दिने गाडी र चालक सङ्खुवासभाको चिचिला गाउँपालिका–५ का ३३ वर्षीय गङ्गाबहादुर पाँचकोटीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
त्यस्तै, इनरुवा-दुहवी सडकखण्डअन्तर्गत दुहवी नगरपालिका- २ मा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सप्तरी रुपनीका अन्दाजी ३०-३५ वर्षीय रञ्जितकुमार यादवको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ४ प ११८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यादव घाइते भएका थिए ।
उनको उपचारका क्रममा दुहवीस्थित जीवन ज्योति अस्पतालमा १२ः५५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने दुवै घटनाको विषयमा प्रहरूिले थप अनुसन्धान गरेको छ।