सुनसरी / सुनसरीको बर्जु गाउँपालिका- १ स्थित वडा कार्यालय अगाडि एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तीव्र गतिमा रहेको एम्बुलेन्स पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ झ ४६९ नम्बरको एम्बुलेन्सले को १९ प १९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ ।
प्रहरीका अनुसार राति साढे आठ बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक बर्जु- ६ का ३० वर्षीय उमेशकुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा राति करिब १० बजेतिर मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलको पछाडि सवार बर्जु- १ का २३ वर्षीय प्रमोद सरदार गम्भीर घाइते भएका छन् । सरदारको विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।
एम्बुलेन्स र चालक सुनसरीको इनरुवा नगरपालिका-१ का ४५ वर्षीय अर्जुन कुर्मीलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए । उनका अनुसार चालक कुर्मीलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखेर घटनाको अनुसन्धान भइरहेको छ ।