सुनसरी / मोरङको बूढीगङ्गामा पिकपअ भ्यानको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु भएको छ ।
कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिका- ३ शान्ति चोकमा हिजो मंगलबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पिकअप भ्यानको ठक्करबाट स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको छ ।
सडक पार गर्दै गरेको अवस्थामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४६९८ नम्बरको पिकअपले वृद्धलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगङ्गाको विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार भ्यान र चालक विराटनगर महानगरपालिका-५ का २४ वर्षीय सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर दुर्घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको छ ।




