सुनसरी / इटहरीको मुख्य चौकमा पूर्वराजा स्वर्गीय वीरेन्द्र शाहको शालिक राख्ने भनेपछि अहिले अर्कै शालिक राखिएको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँग डेलिगेशन पुगेको छ ।
वीरेन्द्र चौकबाट नामकरण भएको इटहरी चोकमा वीरेन्द्रकै शालिक पुनःस्थापना हुनुपर्ने भन्दै इटहरीका केही नागरिकहरू मेयरसँग भेट्न इटहरी उपमहानगर पुगेका हुन् ।
आफू निर्वाचित भएसँग इटहरी चोकमा वीरेन्द्रको शालिक राख्नुपर्यो भन्दै मेयर पौडेलले आफैँले बोलाएर आफूसँग सल्लाह लिइ निर्णय गरेको र अहिले अर्कैको शालिक राखेर आफूहरूलाई अपमान गरेको इटहरीका बाबुराम प्रधानले बताए ।
गत असोज ८ गते बसेको एक भेलाले आइतबार मेयरलाई भेट्ने र इटहरी उपमहानगर र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । आइतबार मेयर पौडेललाई भेट्न जाँदा वीरेन्द्रको शालिक राख्ने काम नहुने र अहिले बन्न लागेको शालिक ‘कसैले रोक्न नसक्ने’ जवाफ दिएका थिए ।
वीरेन्द्रको शालिक राख्ने निर्णय गरेपछि जनजाति महासंघ विद्यार्थी संगठन तथा राजनितिक दवाव समेत खेपेका नगरप्रमुख पौडेलले इटहरी थारुहरुको भुमि भएकाले थारु जातिको प्रतिमा राख्नु उचित भएको भन्दै इटहरीको मुख्य चौकमा इट बोकेको थारुको प्रतिमा राख्ने काम भइरहेको बताएका छन् ।