सुनसरी / मोरङ बुढीगंगा गाउँपालिका- २ मा रहेको विराट शिक्षण अस्पतालमा मिलेमतो रहेर रकम हिनामिना गरेको आरोपमा दशजना कर्मचारी पक्राउ परेका छन्।
कर्मचारीको मिलेमतोमा ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ हिनामिना देखिएपछि अस्पताल प्रशासनको जाहेरीका आधारमा प्रहरीले दशजनालाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार गत कार्तिक ४ गते दुईजनालाई पक्राउ गरेर ठगी विरुद्ध अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा थप आठ जनाको संलग्नता खुलेपछि उनीहरुलाई गत शुक्रबार पक्राउ गरिएको छ ।
प्रहरीले गत कात्तिक ३ गते बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख बुढीगंगा- २ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर सुनसरीको इटहरी -४ का २४ वर्षीय अश्विन भट्टराईलाई पक्राउ गरेर ४ गते ठगी कसुरमा म्याद थप गरि अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका अरूको नाम सार्वजनिक गरेको छैन ।
वास्तविक बिरामीको खाताबाट धरौटीवापतको रकम फिर्ता लगेर र नक्कली बिरामी खडा गरेर ३४ लाख ४२ हजार ७ सय ७२ तथा आधिकारिक व्यक्तिसँग स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा २३ लाख ५२ हजार ३ सय ८८ रूपैयाँ छुट देखाएर रकम घोटाला गरेको पाइएको थियो ।
अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिने, नक्कली बिरामी खडा गरेर रकम घोटाला गर्ने, अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको आरोप छ । पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान बढाइएको छ ।