सुनसरी / विराटनगर महानगरपालिकाले नगर भित्रका नक्सा पास नगरेका र घरबहाल कर समेत नतिरेका संरचनाहरु भत्काउने अभियान शुरु गरेको छ ।
आज विहीवार देखि विराटनगर स्थित कोशी अस्पताल परिसरको भवन भत्काउन शुरु गरेरको हो । कोशी अस्पताल अगाडिका आधा दर्जन कोठा नक्सा पास नगरेर बनाइएको र वर्षौदेखि घर बहाल कर समेत नतिरेकाले भत्काएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
अस्पतालको संरचनामा पसल सञ्चालन भइरहेका थिए । ती पसलले अस्पताल पसललाई पछिल्लो समय भाडा बुझाएको थिएनन् । अस्पताल विकास समितिको आग्रह विराटनगर महानगरपालिकाले नक्सा पास विना निर्माण भइ सञ्चालनमा रहेका संरचना डोजर प्रयोग गरेर हटाएको हो ।
विराटनगर महानगरपालिकाले यस अघि नक्सा पास नगरी सेट व्याक नछोडी बनाइएका छज्जीहरु भत्काउन शुरु गरेसँगै कोशी अस्पताल अगाडिको कोठाहरु भत्काएको छ । नियम र कानुुन बमोजिम चल्नुपर्ने बताउँदै अस्पतालले प्रक्रिया पुुर्याएर व्यापार नगरेकाले भत्काइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताएका छन् ।