सुनसरी / मोरङको सुन्दरहरैँचा नगरपालिका – १२ मा तिव्र गतिका रहेको टिपरको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ ।
आज दिउँसो ४ बजेतिर भित्री सडकखण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६८२५ नम्बरको टिपरले खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको इलाका प्रहरी कार्यलय सुन्दरहरैँचाले जनाएको छ ।
ठक्करबाट सुन्दरहरैँचा- १२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको केराबारी गाउँपालिका- १० का ३५ वर्षीय राजकुमार लिम्बूलाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाहीले दुर्घटना भएको छ ।
स्थानीयका अनुसार तीव्र गतिमा रहेको टिपरले खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको हो । घटनास्थलमा जम्मा भएको भीड र सडकको बीचमा राखिएको शवका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन दिएका थिएनन् । माहोल भड्किन नदिनलाई घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियोे ।
शव सडकमै छाडेर उनीहरूले टिपर आतंक बन्द गर, चालकलाई घटनास्थलमा ल्याउनुपर्ने, कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



