सुनसरी / भोजपुर जिल्लामा उत्पादन हुने भोजपुरे खुकुरीको माग बढे पनि दक्ष कामदार वा कालिगढको अभाव रहेको छ ।
देश तथा विदेशी बजारमा समेत निर्यात हुने खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न सकिएको छैन । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको व्यावसायि बताउछन् ।
भोजपुरे खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीले बताए । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ ।
यहाँ उत्पादन हुने भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छन् । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकार अनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम रु १० हजारसम्म पर्ने खुकुरी रहेको व्यवसायीको भनाइ छ ।
यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ । विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । “भोजपुरे खुकुरीको माग धान्न मुस्किल रहेको, “विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।”
स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए । व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको समेत अभाव रहेको उनको भनाइ छ ।
सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ । आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहनतअनुसारको मूल्य पाउन नसकेको कालीगढहरूको भनाइ छ । खुकुरी उत्पादन गर्ने कालीगढहरू बिचौलियाको मारमा पर्ने गरेका छन् ।
मेहनतअनुसारको आम्दानी लिन समस्या हुने भएकाले पनि कालीगढ पेसामा लाग्नेहरुको सङ्ख्या घट्दै गएको टेम्केमैयुङ- ५ मझौलेमा कालीगढ पेसा गर्दै आउनुभएका गोर विश्वकर्माले बताए । विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ ।



