सुनसरी / पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित ध्वजे डाँडामा विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।
साँगुरीगढी गाउँपालिका- ५ मा रहेको ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न झन्डै २० फिट उचाइमा झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताको ३५ हजार छ सय चार रुपैयाँ लागत राखिएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिकालाई कोशी प्रदेश सरकारले प्रदेशकै प्रमुख पर्यटकीय पालिका घोषणा गरिसकेको छ । ध्वजे डाँडालाई आकर्षणको केन्द्र बनाई विशेषगरी आन्तरिक बाह्य पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न देशको झन्डा फहराइएको साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताएका छन् ।
गाउँपालिकाले सोमबार एक कार्यक्रम गरेर अध्यक्ष जीतेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । सूर्योदय हेर्न र घरबास सेवा होमस्टेका लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको छ ।