सुनसरी : जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन थालिएसँगै जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेहरुको भीड लाग्ने गरेको छ ।
नागरिकता लिने सेवाग्राहीहरु बिहानैदेखि लामा बस्ने गरेका छन् । झिसमिसेमै नागरिकता लिनेको संख्या निकै भएकाले प्रशासनलाई व्यवस्थापनमा कठिनाइ भएको छ । पालो नपाइने डरले उनीहरु भोकभोकै लाइनमा उभिइरहेका भेटिन्छन् ।
नागरिकता लिनेहरुको लाइन प्रशासनको गेटदेखि शनिबारे हटियासम्म लाग्ने गरेको छ । प्रशासनले गत सोमबार जन्मसिद्धका आधारमा नागरिकता लिएकाका सन्तानमध्ये १ सय २८ जनालाई नागरिकता वितरण गरिसकेको छ । मोरङमा इलाका प्रशासन कार्यालयहरु रंगेली र उर्लाबारीबाट पनि नागरिकता प्रशासनले वितरण गरिसकेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण सुरु गर्ने पहिलो दिनसोमबार भीड अलि कम थियो । दोस्रो दिन हिजो मंगलबार भने धेरै भीड भएको थियो ।
भीड व्यवस्थापन गर्न टोकन प्रणाली लागू गरिएको छ । मंगलबार दिउँसोसम्ममा असार महिनाभरिका लागि टोकन वितरण गरिसकिएको जानकारी उनले दिए । प्रशासनले सोमबार मात्रै असार २२ गतेसम्मको टोकन वितरण गरेको थियो ।
नागरिकता वितरणका लागि ३ जना कर्मचारी खटाएर छुट्टै कोठाको व्यवस्था गरिएको छ । सहायक प्रजिअ पोखरेलका अनुसार एकपटकमा ४० जनाको समूहलाई टोकन वितरण गर्ने गरिएको छ ।
यसअघि प्रशासनले प्रतिलिपिसहित दैनिक १ सय ५० वटा हाराहारीमा नागरिकता जारी गर्दै आएको थियो ।
अहिले भीडभाड बढेको र सीमित जनशक्ति रहेका कारण नागरिकता वितरणमा समस्या भएको यादवले बताए । मोरङ प्रशासनमा प्रजिअसहित ४० जना कर्मचारीको दरबन्दी छ । २ जना अधिकृतसहित ४ जनाको दरबन्दी रिक्त छ । बढ्दो भीडभाडले सेवा प्रवाहमा समस्या उत्पन्न गराएपछि गृह मन्त्रालयमा जनशक्ति र स्रोतसाधनलाई व्यवस्थापन गर्न गृह मन्त्रालयलाई आग्रह गरिएको प्रजिअ यादवले बताए ।