सुनसरी / देशभर डेंगुका बिरामी चार हजार नाघेका छन् । चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् ।
असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले बताए । कोशी प्रदेशमा दुई हजार सात सय ५४ रहेका छन् । सुनसरी दुई हजार पाँच सय ४२ जना भइसकेका छन् ।
बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूरपश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेङ्गीका बिरामी रहेका छन् । डेंगु सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार छ सय ७१ बिरामी रहेका छन् ।
लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको छ । डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । महाशाखाले डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।