सुनसरी / अबैध नेटवर्किङ धन्दा गर्ने इटहरीका तीन कम्पनीमा इटहरी उपमहानगरपालिकाले तालाबन्दी लगाएको छ ।
उजुरी र गुनासोहरु आउन थालेपछि उपमहानगरपालिकाले इटहरीका तीन वटा कम्पनीमा ताला लगाएको छ । साथै सञ्चालकलाई तीन दिनभित्र उपस्थित हुन निर्देशनसमेत दिएको छ ।
इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा इटहरी उपमहानगरपालिकाका अनुगमन टोलीले ताला लगाएका छन् । ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले सोप्रकारको व्यवशाय गरेको पाइएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेल आफै यो काममा खटिएका छन् । युवाहरुलाई आर्थिक प्रलोभन दिइ पैसा असुल्ने र अवैध तरिकाले नेटवर्क मार्केटिङमा लगाइ ठग्ने गुनासोलाई आफूले सुक्ष्म तरिकाले अध्ययन गरी एक्सन लिएको बताएका छन् ।
कम्पनीमा आबद्व व्यक्तिहरूले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरूलाई सामान्य व्यापार व्यवसाय र जागिरहरूको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाड्ने गरेका थिए ।
यस्ता कम्पनिहरुले जटिल रोग निको पारिदिने झुटो आश्वासनसमेत दिने गरेका छन् । चिकित्सा विज्ञानले नै निको पार्न नसक्ने रोगहरु निको पारिदिने भन्दै मानिसहरुलाई ठग्ने गरेको समेत उजुरीका आधारमा कम्पनिहरुमा अनुगमन गरी तालाबन्दी गरिएको हो ।
कम्पनीहरूले इजाजत एउटाको लिने, काम अर्कै गर्ने गरेको पाइएको अनुगमन समितिकी संयोजक, उपमेयर संगीता चौधरीले बताइन् । केही दिनअघि मात्र पनि उपमहानगरपालिकाले एकेएम कम्पनिमा अनुगमन गरी सञ्चालकहरुलाई बोलाएको थियो ।