सुनसरी / सहकारी ऐनविपरीत कारोबार गरेको भन्दै धनकुटा नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित १७ ओटा सहकारी संस्थाको दर्ता खारेज गरिदिएको छ ।
खारेज गरिएका सहकारीहरूमा बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत्सँग सम्बन्धित सहकारी रहेको नगरपालिकाको सहकारी शाखाले जनाएको छ ।
प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनु पर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाई नगरपालिकामा विवरण पठाउनुपर्ने व्यवस्था अटेर गरेको भन्दै नगरपालिकाले सहकारीको दर्ता खारेज गरेको हो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार नौ वटा कृषि सहकारी, तीन वटा बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एक÷एक वटा दुग्ध र विद्युत् सहकारी खारेजीमा परेका छन् । अनियमित गतिविधि गर्ने सहकारीको दर्ता खारेजीपछि धनकुटा नगरपालिकामा अब ५३ वटा सहकारी कायम भएका छन् ।
ऐनको व्यवस्था अन्तर्गत नचल्ने सहकारीहरूबाट आम मानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नु परेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
नियमानुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउन पटक–पटक सूचना जारी गरिएको थियो । अन्तिम पटक गएको साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउन १५ दिनको म्याद दिइएको थियो ।