सुनसरी / इटहरी उपमहानगरपालिकाले भूमिकरमा अत्यधिक करवृद्धि गरेपछि निरन्तर आन्दोलन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरबासीको हस्ताक्षर संकलनमा २७ हजारभन्दा बढी हस्ताक्षर संकलन गरेको छ ।
करवृद्धिविरुद्ध २७ हजार नगरबासीको हस्ताक्षर सङ्कलन गरेको कोशी प्रदेशका प्रवक्ता कमलबाबु मैनालीले बताए । उनकाअनुसार रास्वपाले कर वृद्धिको विरोधमा हरेक दिन इटहरी उपमहानगरपालिका अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै आएको छ ।
कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको थियो ।
हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए । कर घटाउने प्रक्रिया अगाडि नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए । कर घटाउने विषयमा उपमहानगर भने मौन रहँदै आएको छ ।