सुनसरी / भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्न थालेको छ ।
गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहर लगायतका काठबाट ससाना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । यसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ ।
खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाई काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक) को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । यसको अलवा हातले यन्त्र गुमाएर पनि काठका सामग्री बनाउने चलन रहेको छ । चुदाराहरुले कलात्मकरुपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायत विभिन्न सामग्री बनाउँदै आएका छन् ।
चिसो, खोला खोल्सीमा बसेर काम गर्नुपर्ने तथा धेरै मेहनत गर्नुपर्ने भएकाले नयाँपुस्ताको रोजाइमा नपरेको हो । ठेकी कुदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने भएकाले पछिल्लो समयमा पेसाप्रति लाग्ने मान्छेको सङ्ख्या घट्दै गएको हो ।
पराम्परागतरुपमा सञ्चालन हुँदै आएका यस्ता पेसाहरुको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने टेम्कैमैयुङ गाउँपालिका- ५ का स्थानीय रामबहादुर विष्टले बताए । स्वास्थ्यका लागि पनि काठका भाडा फाइदाजनक हुने स्थानीयवासीको भनाइ छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा विस्तारै हराउन थालेका हुन् ।
न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराहरुको भनाइ छ । दूध जमाउने ठेकीबाहेक मोही पार्नै ठेकी, कोसी, आरी खुर्पेटा कुदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ ।
काम गर्ने प्रविधिले आधुनिकता नपाउदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदाराहरुको भनाइ छ । धेरै मेहनतले खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिकोपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको लामो समयबाट चुँदारा पेसा गर्दै आएका टेम्केमैयुङका रत्नबहादुर विश्वकर्माले बताए ।
आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँपुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उनले थपे ।
हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउनसके काम गर्न सहज हुने चुँदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताए । पेसालाई जोगाउन नयाँपुस्तालाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विश्वकर्माले बताए ।
परम्परागतरुपमा गाईभैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो हट्दै गएको छ । बजारमा स्टिललगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै देखिन्छ ।



