ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएको थियो ।
सो समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरुसँग समेत अन्तरक्रिया गरी राय लिएको र सबैले केबलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
यसै विषयमा केन्द्रित रहेर शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उक्त केबलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरुसँग अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबलकार बन्ने चर्चामात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए । उनीहरुले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवासीहरुले प्रत्यक्ष लाभ लिनसक्ने यस आयोजना तत्कालै अघि बढाउनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए ।
ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताए । उनले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताए ।
ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताए । उनले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताए ।
यता केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबलकार निर्माण गर्न नहुने बताउँदै आएको छ । समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना गर्नु पर्ने उनीहरूले बताए ।