Wednesday, February 12, 2025
कोशी प्रदेशइटहरीअतिक्रमित संरचना भत्काउन इटहरीका मेयर डोजर लिएर निस्किए

अतिक्रमित संरचना भत्काउन इटहरीका मेयर डोजर लिएर निस्किए

इटहरी | इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ । बर्खाको समयमा इटहरी बाढीले डुबान हुने भएकाले अतिक्रमित क्षेत्रमा बनेका संरचना भत्काउन सुरु गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेल डोजरसहित खोला पैनी पुगेका थिए । पटक-पटक सूचना जारी गर्दा पनि नभत्काएपछि उक्त संरचना भत्काउन सुरु गरेको पौडेलले बताए । अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको अडान छ ।

टेंग्रा खोला, खेती खोला र सुकुम्बारी पैनीको दुवै किनारबाट ६-६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मानी उक्त खोला पैनीको दुवैतर्फ ६-६ मिटर नछोडीकन बनेका भवन संरचना हटाउन सुरु गरिएको मेयर पौडेलले जानकारी दिए । मङ्गलवार सो क्षेत्रका केही संरचना भत्काइएका छन् ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठुलो पानी पर्दा इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् । अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तिमा बस्नेलाई जोगाउन उपमहानगरले अवैध संरचना हटाउन सुरु गरेको मेयर पौडेलले बताए ।

खोलाको संरचना क्लियर गरेपछि खोलाको दुवैतर्फ २०–२० फुट बाटोसमेत निकालिने हुँदा आवतजावतमा सहजता हुने र खोलाको ब्युटिफिकेसनमा सहयोग पुग्ने उनले बताए ।

खास गरी इटहरीका ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढी प्रभावित छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस