Friday, January 17, 2025
देशकोशी प्रदेशहतुवागढीको प्रसिद्ध सिमसारा जलकन्या देवस्थल ओझेलमा

हतुवागढीको प्रसिद्ध सिमसारा जलकन्या देवस्थल ओझेलमा

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-६ होम्ताङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य सिमसारा जलकन्या देवस्थल ओझेलमा परेको छ। यो पौराणिक मान्यता बोकेको स्थलमा दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजनको आगमन हुने गरेको छ।

स्थानीय राजेन्द्र राईका अनुसार जलकन्या पूजा विधिपूर्वक गरे घर-गृहस्थीमा कुनै अनिष्ट नहुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ। सही विधिअनुसार पूजा नगरेमा भने अनिष्ट हुने धार्मिक मान्यता रहेको उनले बताए।

“यहाँ चोखो नितो नगर्दा यो आसपासका ठाउँमा केही न केही अशुभ घटना घट्ने गर्दछ,” उनले भने, “तर यसको प्रचार नहुँदा यो स्थल ओझेलमा परेको छ।”

नजिकैको पोरोङ खोला जंगलबीच अवस्थित जलकन्या देवस्थलमा बैशाख र मंसिर पूर्णिमामा ठूलो मेला लाग्ने गरेको स्थानीय सरोजकुमार राईले बताए। धनकुटा, सुनसरी, खोटाङलगायतका जिल्लाबाट पनि भक्तजनको आगमन हुने गरेको छ।

बोका, हाँस, परेवा, राँगाको पूजा हुने यस स्थलमा सुँगुर र जाड रक्सी प्रवेश गर्न नहुने मान्यता छ। गत बैशाखमा भएको आगलागीलाई यही मान्यताको परिपृक्ष्यमा हेरिएको छ।

हतुवागढी गाउँपालिकाले यसको संरक्षण र विकासमा पाँच लाख रुपैयाँ खर्च गरिसकेको र यसलाई धार्मिक तथा पर्यटन गन्तव्यको रुपमा विकास गर्ने योजना अगाडि बढाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।

“यो स्थलको प्रचार र विकासले आन्तरिक तथा बाह्य पर्यटन बढाउन सकिन्छ,” पूर्वसांसद धनहर्क राईले भने, “यसले भोजपुरको आर्थिक विकासमा सहयोग पुग्नेछ।”

 

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img