विराटनगर । विराटनगर महानगरपालिकाले मलामी बोक्ने निःशुल्क बसलाई आवश्यक पर्ने इन्धन निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। महानगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा संचालन गरिरहेको बसका लागि महानगरपालिकाले आवश्यक पर्ने इन्धन मासिक रूपमा निःशुल्क उपलब्ध गराउने भएको हो।
विराट सेवा आश्रमसँगको सहकार्यमा गरिएको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मलामी बोक्ने बसलाई आवश्यक पर्ने इन्धन महानगरले मासिक रूपमा उपलब्ध गराउने घोषणा गरेका छन्। उनले भनेका छन्, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ। बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ।”
महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिरहेको छ। ज्येष्ठ नागरिकलाई कम्बल, छाता, हर्लिक्स, फलफूलसमेत प्रदान गरेर सम्मान गरिएको थियो। सो अवसरमा युवा करिम अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिक यात्रामा लैजानका लागि समेत निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएको बताइएको छ।