ताप्लेजुङ । नेपालको पूर्वी हिमाली क्षेत्रको प्रमुख धार्मिक स्थल पाथीभरा देवी मन्दिरमा यस वर्षको कात्तिक महिनामा दर्शनार्थीको उल्लेख्य चाप देखिएको छ।
समुद्र सतहबाट ३७९४ मिटरको उचाइमा अवस्थित यो मन्दिरमा कात्तिक महिनामा ६१ हजार १७३ तीर्थयात्रीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार, दर्शन गर्न आउने भक्तजनमा स्वदेशी भक्तजनसँगै भारतका सिक्किम, दार्जिलिङ, मेघालय, असाम र दिल्लीजस्ता ठाउँबाट आएका तीर्थयात्रीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।
गत असोजमा बाढीपहिरो र वर्षाका कारण मन्दिर क्षेत्रमा दर्शनार्थीको आवागमन प्रभावित भएको थियो। तर, कात्तिकमा पाँचथरको हेवाखोला डाइभर्सन सञ्चालनमा आएपछि दर्शनार्थीहरूको आवागमन पुनः सहज बनेको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, गत महिनामा मन्दिर क्षेत्रमा दर्शन गर्ने तीर्थयात्रीको संख्याले नयाँ रेकर्ड कायम गरेको छ।
दर्शनार्थीको यो बृद्धिसँगै मन्दिर क्षेत्रमा सरसफाइ चुनौती पनि थपिएको छ। दर्शन गर्न आउने भक्तजनहरूले बाटोमा गरेको फोहोर व्यवस्थापन गर्न शनिबार काफ्लेपाटीदेखि मन्दिरसम्मको पाँच किलोमिटर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। मन्दिर क्षेत्र विकास समितिको समन्वयमा स्थानीय तथा स्वयंसेवकहरू समेत अभियानमा सहभागी भएका थिए।
तीर्थयात्रीबाट चढाइएको भेटी रकम पनि यसपटक उल्लेख्य मात्रामा सङ्कलन भएको छ। समितिका अनुसार, कात्तिक महिनामा मात्र ३७ लाख ४४ हजार ७५० रुपैयाँ भेटी सङ्कलन भएको छ, जुन चालु आर्थिक वर्षकै सबैभन्दा धेरै हो। भेटी रकम कर्मचारीमार्फत सदरमुकाम फुङलिङ ल्याइ गणना गर्ने र त्यसपछि बैङ्कमा जम्मा गर्ने परम्परा रहेको समितिले जानकारी दिएको छ। गणना सकिएपछि प्रत्येक महिनाको भेटी सार्वजनिक गर्ने कार्य समितिले निरन्तर गर्दै आएको छ।
पाथीभरा मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वले यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। यसका साथै, प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको यो केन्द्रले स्थानीय पर्यटन र अर्थतन्त्रलाई समेत टेवा पुर्याइरहेको छ। दर्शनार्थीको यो अभूतपूर्व संख्याले मन्दिर क्षेत्रको पूर्वाधार र व्यवस्थापनमा थप लगानीको आवश्यकता रहेको देखाएको छ।