धरान | धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ विरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षा सहित आवश्यक कारबाहीको माग गर्दै बिहीबार साँझ इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
नगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकारद्धयलाई दिएको धम्कीको बारेमा पत्रकार महासङ्घ सुनसरीको भेलाले निर्णय गरे अनुसार प्रहरीमा उजुरी दिइएको हो ।
स्थानीय सरकार प्रमुख साम्पाङ स्वयं आम नगरवासीका अभिभावक भएर पनि गैर जिम्मेवार अभिव्यक्ति र सामाजिक सञ्जालबाट पत्रकारिता गर्न नदिने र मार्ने धम्की समेत दिएकाले धरानमा संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रता, पत्रकार र पत्रकारिता असुरक्षित भएको उजुरीमा उल्लेख छ ।