देशकोशी प्रदेशइटहरीमा ‘उज्यालो इटहरी अभियान’ अन्तर्गत १५ स्थानमा हाईमास्ट लाइट जडान

इटहरीमा ‘उज्यालो इटहरी अभियान’ अन्तर्गत १५ स्थानमा हाईमास्ट लाइट जडान

कोशी | इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी अभियान’लाई अघि बढाउँदै नगरका प्रमुख स्थानहरूमा हाईमास्ट लाइट जडान गरेको छ। बिहीबार उपमहानगर कार्यालय परिसरमा मेयर हेमकर्ण पौडेलले हाईमास्ट लाइटको उद्घाटन गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

मेयर पौडेलका अनुसार हालसम्म इटहरीका विभिन्न स्थानमा १२ हजारभन्दा बढी सडक बत्ती जडान भइसकेका छन्। इटहरीका सबै क्षेत्र उज्यालो नहुँदासम्म यो अभियान जारी रहने उनको भनाइ छ।

उपमहानगरपालिकाले इटहरी गोलो चोक, हलगडा चोक, खनार चोक, तरहरा चोक, आपगाछी, बुढीगंगा मुक्तिघाट आरती क्षेत्र, एनटिभी चोक, श्री जब्दी मन्दिर, उब्धि चोक, पकली चोक, पूरान चोक, हवाई चोक, मंगलबारे तथा शनिबारे बजार पिपल चोक, र आईतबारे तथा बुधबारे हटियामा हाईमास्ट लाइट जडान गरेको हो।

इटहरी उपमहानगरपालिकाको विद्युत शाखाका प्रमुख उमेश चौधरीका अनुसार प्रत्येक हाईमास्ट लाइट ३०० वाटको छ। पहिले जडान गरिएका सडक बत्तीको उज्यालो पर्याप्त नभएकाले यी स्थानहरूमा नयाँ लाइट जडान गरिएको हो।

लाइट सञ्चालनका लागि आधुनिक टाइमर प्रविधि प्रयोग गरिएको छ, जसले राति स्वचालित रूपमा बत्ती बाल्ने र बिहान निभाउने सुविधा दिन्छ। गोलो चोकमा १६ मिटर अग्लो पोलमा ८ सेट लाइट जडान गरिएको छ भने अन्य स्थानहरूमा १२.५ मिटर अग्लो पोलमा ४ सेट लाइट राखिएको छ।

विराटनगरस्थित इटन्टर ट्रेड नेपाल कम्पनीसँग तीन करोड चार लाख आठ हजार तीन सय रुपैयाँको लागतमा हाईमास्ट लाइट र अन्य ६० वाटका ४,१२५ सेन्सर बत्ती खरिद गरिएको छ।

‘उज्यालो इटहरी अभियान’ले नगरलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिएको छ। नगरका सबै क्षेत्रमा उज्यालो पुर्‍याउन यो अभियानलाई अझ तीव्र रूपमा अघि बढाइने इटहरी उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img