हेटौँडा | स्वतन्त्र पत्रकार संघ मकवानपुर जिल्ला शाखाले आफ्नो चौथो अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। संघका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा राजन घिमिरे (अनुराग) अध्यक्ष, रविन्द्र कार्की उपाध्यक्ष, बसन्त भण्डारी सचिव, अस्मिता भट्टराई कोषाध्यक्ष तथा सुमिना चौलागाई, प्रमोद सहनी र नवीन चौधरी सदस्य चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष राजन घिमिरेले स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन, पत्रकारहरूको हकहित संरक्षण तथा संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनले संघको गतिविधिलाई व्यवस्थित गर्दै नियमित बैठक, पत्रकारिता तालिम, कानुनी सहायता तथा डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिने निर्णय गरेको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष सुरेश श्रेष्ठले संघको स्थापनाकालदेखि अहिलेसम्मको यात्राबारे चर्चा गर्दै पत्रकारिताको विश्वसनीयता कायम राख्न पत्रकारहरूले उच्च नैतिकता अपनाउनु पर्नेमा जोड दिए। उनले पत्रकारहरूको पेशागत सुरक्षाका लागि संघ अझ क्रियाशील बन्नुपर्ने आवश्यकता औंल्याउँदै संघको नेतृत्वदायी भूमिकाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरे।
त्यस्तै, संघका निवर्तमान अध्यक्ष गोकुल अधिकारीले स्वतन्त्र पत्रकारिताको सशक्तिकरणका लागि सबै पत्रकारहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए। संघलाई अझ सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ कार्यसमिति चयन गरिएको उल्लेख गर्दै उनले अधिवेशन सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे।
नयाँ कार्यसमिति चयनसँगै स्वतन्त्र पत्रकार संघ मकवानपुरले आगामी दिनमा पत्रकारिताको गुणस्तर अभिवृद्धि, प्रेस स्वतन्त्रता प्रवर्द्धन र पत्रकारहरूको हकहित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।