Thursday, March 27, 2025
कोशी प्रदेशइटहरीइटहरीमा दोस्रो तरहरा ‘१० के रन’ दौड प्रतियोगिता फागुन २४ गते हुँदै

इटहरीमा दोस्रो तरहरा ‘१० के रन’ दौड प्रतियोगिता फागुन २४ गते हुँदै

इटहरी | कोशी प्रदेशको इटहरी २० तरहरामा यही शनिबार दोस्रो तरहरा ‘१० के रन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजक समितिले यसपटक दुई हजार दुई सयभन्दा बढी धावकहरू सहभागी हुने जानकारी गराएको छ।

नेपालका विभिन्न जिल्लाहरूका साथै भारतको सिक्किम, दार्जिलिङ, मिरिकलगायतका स्थानबाट समेत धावकहरूको सहभागिता रहने बताइएको छ। प्रतियोगिताका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार प्रतियोगिता आठवटा विधामा सञ्चालन हुनेछ, जसमा विभिन्न उमेर समूहका धावकहरू प्रतिस्पर्धा गर्नेछन्।

१२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूका लागि ३ किलोमिटर दूरीको दौड तय गरिएको छ। यस विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, १६ वर्षभन्दा कम उमेरका धावकहरूले १० किलोमिटर दूरी पूरा गर्नुपर्नेछ। यस विधामा विजयी हुनेहरूलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार दिइनेछ।

१६ देखि ४० वर्ष उमेर समूहका धावकहरूले १० किलोमिटर दूरी पार गर्नुपर्नेछ। यस समूहका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। ४० देखि ६० वर्ष उमेर समूहका प्रतियोगीहरूका लागि पनि १० किलोमिटर दूरी निर्धारण गरिएको छ। यस समूहका विजेताले १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

६० देखि ७५ वर्ष उमेर समूहका प्रतियोगीहरूका लागि समेत १० किलोमिटर दूरी निर्धारण गरिएको छ, जसमा विजेताले तीन हजार, द्वितीय हुनेले दुई हजार र तृतीय हुनेले एक हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, स्पाइनल इन्जुरी भएकाहरूका लागि १ किलोमिटर दौडको व्यवस्था गरिएको छ। यो समूहका विजेताहरूलाई पाँच हजार, तीन हजार र दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

गृहिणी तथा पारिवारिक रमाइलो दौडमा ३ किलोमिटर दूरी तोकिएको छ भने विदेशमा रहेका नेपालीहरूले १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न पाउनेछन्। यी विधाहरूमा सहभागी सबैलाई प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ।

प्रतियोगितालाई सफल बनाउन करिब १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहभागीहरूबाट आठ लाख ८० हजार संकलन हुने अनुमान गरिएको छ भने इटहरी उपमहानगरपालिकाबाट तीन लाख रुपैयाँ उपलब्ध गराइनेछ। बाँकी रकम विभिन्न सहयोगी संस्थाहरूबाट संकलन गरिनेछ।

दौड प्रतियोगिता तरहरा चोकबाट सुरु भएर ब्रम्हपुर, अमाहा, इटहरी वडा नं. १ को वडा कार्यालय नजिकै, आँपगाछी हुँदै पुनः तरहरा चोकमा नै आएर टुंगिनेछ। आयोजक समितिले इच्छुक धावकहरूका लागि दर्ता प्रक्रिया खुला रहेको जानकारी गराएको छ। प्रतियोगिताले इटहरी तथा कोशी प्रदेशको खेलकुद संस्कृतिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img