काठमाडौं : पछिल्लो एक सातामा खाने तेलको मूल्य ह्वात्तै वृद्धि भएको छ ।
प्रतिलिटर ५० रूपैयाँ वृद्धि भएको हो । बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ। अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ। व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य ह्वात्तै बढाएका छन्।
स्थानीय तहको चुनावताका प्रतिलिटर तीन सय १० रूपैयाँमा बिक्री भएको सूर्यमूखी तेल चुनाव सकिएको एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढेर तीन सय ६० रूपैयाँ पुगेको छ।
त्यस्तै, त्यो समय भटमासको तेल प्रतिलिटर तीन सय चार रुपैयाँमा बिक्री भएकाे तेल १६ रूपैयाँ बढेर तीन सय २० रूपैयाँमा बिक्री भएको नेपाल खुद्रा व्यापार संघले दिएको तथ्यांकले देखाउँछ।
पछिल्लो एक सातामै उद्योगबाट प्रतिलिटर ५० रूपैयाँ मूल्य बढेर आएको संघका महासचिव अमुलकाजी तुलाधारले बताए।