काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमप्रति कटाक्ष गरेका छन् ।
उनले कार्यक्रममा काठमाडौं महानगरको आलोचना गरिएको संकेत गर्दै कटाक्ष गरेका हुन् । ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्, ‘धन्यवाद !’
सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उपप्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ ।
हेटौंडामा आयोजित सो कार्यक्रममा प्रमुख शाह र उपप्रमुख सुनिता डंगोल समेत सहभागी छन् । उनले कार्यक्रममा छलफल प्रभावकारी हुन नसकेको भन्दै महानगरपालिकालाई गाली मात्रै गरिएको बताएका हुन् । कार्यक्रममा थानीय सरकार सञ्चालन र स्थानीय विकास सम्बन्धमा विस्तृत छलफल हुने अपेक्षा गरिएपनि त्यसो नभएको बताइएको छ ।
सो कार्यक्रमलाई सोमबार उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गरेका थिए ।