Wednesday, March 26, 2025
समाजहर्क साम्पाङले इन्जिनियरप्रति कटाक्ष गरेपछि विद्यार्थीले मागे राजीनामा

हर्क साम्पाङले इन्जिनियरप्रति कटाक्ष गरेपछि विद्यार्थीले मागे राजीनामा

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)का पछिल्ला गतिविधिले उनी स्वयंलाई आलोचित बनाउँदै लगेको छ ।

दललाई नरुचाएर विद्रोही धरानेले स्वतन्त्र उम्मेदवार तथा व्रिदोही छवि बनाएका हर्कलाई मेयरमा निर्वाचित गराएसँगै उनले अस्वाभाविक गतिविधि गर्न थालेका छन् । जसका कारण उनी स्वयं आलोचित बनेका हुन् । सामाजिक सञ्जालमा जथाभाबी स्टाटस तथा भिडियो पोस्ट गरेपछि मेयर साम्पाङ आलोचित बनेका हुन् । दिनमै दर्जन बढी स्टाटस तथा फेसबुक लाइभ पोस्ट गर्दै गएका मेयर साम्पाङले आफ्नो ‘वजन’ घटाउँदै लगेका छन् ।

साम्पाङले केही दिनअघि मात्रै धरानमा श्रमदानमा सहभागी नहुने विद्यार्थी अनुत्तीर्ण गराउने भन्दै अस्वाभाविक स्टाटस राखेका थिए । ‘धरानमा नगरको विकास लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गरिनेछ,’ उनले लेखेका थिए, ‘श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन, प्रतीकात्मक हुनेछ, विद्यार्थीको सहभागिता ।’

स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका साम्पाङले धरानेलाई पानी खुवाउने प्रतिबद्ध जनाएसँगै अहिले साताको एकदिन आफैं उपस्थित भएर श्रमदान गर्दै आएका छन् । धरान नगरको विकासका लागि कक्षा ९, १०, ११ र १२ का विद्यार्थीले कम्तीमा सात दिन श्रमदान गर्नुपर्ने उद्धृत गरेका थिए । ‘त्यो श्रम सरसफाइ, वृक्षरोपणलगायत जे पनि हुनसक्छ,’ उनले भनेका थिए ।

मेयरमा निर्वाचित भएसँगै श्रमदानमा सक्रिय रहेका साम्पाङले पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)प्रति लक्षित गर्दै अस्वाभाविक पोस्ट गर्न थालेपछि उनको आलोचना सुरु भएको हो । उनले आइतबार साँझ मात्रै एक युट्युब च्यानलमा सार्वजनिक भएको अन्तर्वार्तामा बालेनप्रति इंगित गर्दै इन्जिनियरले राजनीति गर्ने होइन भनेका थिए ।

‘अलिक गलत मानिस पनि राजनीतिमा आएजस्तो लाग्छ,’ उनले अन्तर्वार्तामा भनेका थिए, ‘इन्जिनियरिङ गर्ने मान्छे राजनीतिमा आउने होइन, ऊ भनेको प्राविधिक हो, प्राविधिकलाई नीति बनाउन आउँदैन, प्राविधिकले घर बनाउने हो, पुल बनाउने हो ।’ उनले आफूजस्तो राम्रो काम कसैले पनि गर्न नसक्ने भन्दै चुनौती समेत दिए ।

यसैबीच उक्त अन्तर्वार्ता सार्वजनिक भएपछि मेयर साम्पाङको राजीनामा माग गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङको राजीनामा माग गरेको हो ।

‘सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैं शैलीमा जुन किसिमले इन्जिनियरको क्षमता र यस पेसामा आवद्ध, अध्ययनमा ऊर्जाका साथ समर्पित सम्पूर्ण इन्जिनियरप्रति गरिएको अपमानपूर्ण टिप्पणीको विरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका अध्यक्ष आभाष अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘इन्जिनियरमाथि प्रयोग गरिएको तुच्छ शब्दले उहाँको विवेकशीलता, कूटनैतिक क्षमता र बालीको परिपक्कमाथि प्रश्न उठेको छ ।’

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img