काठमाडौं: तीज पर्वको पञ्चमी व्रत लिनका लागि बिहीबार सुनसरी बराहक्षेत्रको नहरमा नुहाउँन जाँदा एक जना बालिकाको मृत्यु भएको छ।
बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ का डिकबहादुर खड्काको १४ वर्षे छोरी सलिनाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका अनुसार बिहान ७.३० बजे नुहाउँदा डुबेर बेपत्ता भएकी सलिना दिउँसो मृत अवस्थामा भेटिएकी थिइन्। सलिना बेपत्ता भएलगत्तै खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका थिए। नुहाउँन जादा चार जना डुबेकोमा तत्काल तीन जना उद्धार गरिएको थियो। उद्धार गरिएका मध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्षे शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।
नुहाउँने क्रममा डुबेका बराहक्षेत्र वडा नं. ३ कै २३ सोनु खडका र १४ वर्षे इसा खड्काको अवस्था भने सामान्य रहेको छ।
उनीहरु उपचारपछि घर फर्केका छन्। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तर्षिहरुको पूजा आराधना गर्दा हिन्दु धर्मावलम्बी महिलाहरुले व्रत बस्ने गर्छन्। जसका लागि नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाइको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने चलन छ।