काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले हिरासतबाट निकालेर गुरुङलाई भेटेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
छानबिन थाल्नु अगावै लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको छ । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ । रविले गुरुङसँगको फोटो पोष्ट गर्दै ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर धन्यवाद दिएको’ उल्लेख गरेका छन् । उनले ‘कानुन सबैलाई बराबर हुने’ समेत उल्लेख गरेका थिए ।



