काठमाडौं । सोमबारबाट यो वर्षको दसैँ सुरु भएको छ । दसैँ घरमा जमरा राखेपछि विधिवत रूपमा यो वर्षको दसैँ सुरु भएको हो । दसैँ घरसँगै मन्दिर तथा घरघरमा जमरा राखिएको छ ।
यो वर्षको दसैँमा मनसुनी प्रणाली नबारिहिने भएको छ । मनसुनी प्रणालीभित्रै दसैँ सम्पन्न हुने भएको छ । मनसुनी प्रणाली बाहिरिनसकेका कारण पानी परिरहेको हो ।
मनसुन सामान्यतः नेपालमा औसतमा अक्टोबर २ बाट बाहिरिन्छ । तर, यो औसत समय मात्रै हो । यो भन्दा केही अगाडि वा पछाडिसम्म पनि मनसुनी वायु सक्रिय रहन सक्छ । यदि औसत समयमै यो वर्ष मनसुन बाहिरियो भने अक्टोरबर २ अर्थात सप्तमी फूलपातीका दिन बाहिरिनेछ । विजया दशमी (टीका) अक्टोबर ५ गते पर्छ । औसत समयमै मनसुन बाहिरिए टीकाको दिन पानी पर्ने सम्भावना न्यून हुन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष मनसुनी प्रणाली केही ढिलोगरी मात्रै बाहिरिनेछ । “यो वर्ष इन्डियाबाटै मनसुन केही ढिलोगरी बाहिरिने देखिएको छ,” मौसमविद् विनु महर्जन भन्छिन्, “इन्डियाको वेष्टबाट भर्खरै मात्र मनसुन बाहिरिन सुरु भएको छ, त्यसैले यो वर्ष औसत समयभन्दा केही ढिलो मनसुन बाहिरिनेछ ।”
दसैँको समयमा भारी वर्षाको सम्भावना भने कम रहेको महर्जनको भनाइ छ । भारी वर्षा नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । “हिजोबाट नै ठूलो वर्षा कतै पनि भएको छैन । अब विस्तारै ठूलो वर्षा हुने सम्भावना कम हुँदै जान्छ,” उनी भन्छिन्, “त्यसैले दसैँको समयमा वर्षाको सम्भावना त हुन्छ । तर, ठूलो वर्षाको सम्भाना भने कमै छ ।” जुन १३ नेपालमा मनसुन भित्रिने सरदर मिति हो । तर, यस वर्ष जुन ५ मै मनसुन भित्रिएको थियो ।
यसैबीच, आज बिहान मधेस प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आज अपराह्न हाल्कादेखि मध्यम वर्षा हुने मौसमविद् महर्जनले जानकारी दिइन् ।
आज राति प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।