काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेता हुनका लागि चुनाव लड्ने तयारी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरसहित थापा सांसद चुनिएका थिए।
थापाले चुनावी तयारी गर्दादेखि नै अब आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताइरहेका छन्। अन्तिम चुनावी परिणाम नआइसक्दै थापाले संसदीय दलको नेता हुन चुनाव लड्ने बताएका हुन्।
प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेता चुनिनु आवश्यक हुन्छ। थापाले संसदीय दलको नेता बन्नका लागि आन्तरिक तयारी गरिरहेका छन्।
सुरूमा आफूले पार्टीभित्रका केही नेता तथा निर्वाचित सांसदहरूसँग कुराकानी गर्ने र संसदीय दलको नेता चुनिन सहयोगका लागि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासँग छलफल गर्ने उनको तयारी छ।
आफू संसदीय दलको नेताका लागि तयारी गरिरहेको र प्रधानमन्त्री बन्नका लागि अघि बढेको कुरा आज थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग बताए।
पूर्ण रूपमा मतपरिणाम आइसकेपछि सभापति देउवा, नेता पौडेल र कोइरालाका घरमा पुगेर संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गर्ने उनले बताए। उनले अब कांग्रेसमा आफूहरू सरकार चलाउन तयार भइसकेकोले सभापतिलगायत नेतालाई बाध्यता नरहेको पनि थापाको दाबी छ।
उनले पार्टीको आन्तरिक सन्तुलन मिलाउन नवनिर्वाचित सांसदहरू विभिन्न गुटमा लाग्न नहुने बताएका छन्।
उनले आफूलाई संसदीय दलको नेता बनाउन र प्रधानमन्त्रीका लागि अग्रसर गराउन पार्टीका सांसदहरूबाट सहयोगको अपेक्षा राखेको बताए।
उनले कांग्रेसको भविष्य र मतदाताले खोजेको परिवर्तनका लागि आफूले संसदीय दलको नेता चुनिँदै प्रधानमन्त्रीका लागि लडाइँ लड्ने बताए। सभापति देउवासहित नेताहरूलाई पछिल्लो सिटमा बसेर गाडी हाँक्ने सिटमा आफूहरूलाई पठाउन उनको आग्रह छ।