अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन हुने भएको छ । भिरालो पाखोमा लटरम्मै फलेका सुन्तलाले आम्दानी बढेपछि यस क्षेत्रका किसानको जीवनस्तर पनि फेरिएको छ ।
त्यस्तै, किसानहरू परम्परागत खेती छोडेर सुन्तला खेतीमा लागेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पणेना, पोखराथोक, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ, खन, साकिन्धारालगायतका ठाउँका कृषकको आम्दानीको मुख्य स्रोत सुन्तला खेती बनेको छ ।
अर्घाखाँचीको ४ सय ९४ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकोमा ५ हजार ३ सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १० प्रतिशतले सुन्तला उत्पादन बढी भएको हो । जिल्लाभरमा यो वर्ष २७ करोड रुपैयाँबराबरको सुन्तलाको कारोबार हुने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख राममिलनप्रसाद विश्वकर्माले बताए ।
अर्घाखाँचीमा होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँभन्दा बढीमा सुन्तला बिक्री हुने गरेको छ । उत्पादित सुन्तलामध्ये ३० प्रतिशत जिल्लाभित्र खपत हुन्छ भने बाँकी ७० प्रतिशत रुपन्देही, पाल्पा, कपिलवस्तु, प्युठान, नवलपरासी, काठमाडौंलगायतका अन्य सहरमा निर्यात हुने गरेको छ ।
पाणिनी गाउँपालिकामा एउटै परिवारले ५० लाख रुपैयाँको सुन्तला उत्पादन गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ पणेना सिम्लेका हुमनाथ पौडेलको परिवारले ५० लाख मूल्यबराबरको सुन्तला उत्पादन गरेका हुन् । चार भाइ छोरा रहेका हुमनाथ २०२७ सालमा भारतमा सिपाहीको जागिर गर्दै गर्दा भारतीयले नेपालीप्रति गरेको घृणा सहन नसकेर नेपाल फर्किएका थिए ।
स्वदेशी माटोको मायाले आएर सुरुमा १६ वटा सुन्तलाको विरुवा लगाउँदा उनलाई गाउँमा धेरैले नकारात्मक रूपमा लिएका थिए । तर, पनि उनले अरूको कुरा सुनेनन् । आफ्नो लक्ष्यमा दत्तचित्त भएर लागे । उमेरले ७४ काटेका हुमनाथले छोरालाई आफ्नै भूमिमा रोजगारी सिर्जना गर्ने योजना सुरुबाटै बनाए । त्यो योजना सफल भएर अहिले चार छोराहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । सोहीबमोजिम राम्रो आम्दानी पनि गरेका छन् । उनको सुन्तला खेती अहिले ६५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । उनको परिवारले वार्षिक झन्डै एक हजार क्विन्टल सुन्तला बिक्री गर्ने गर्छन् । यसबाट ५० लाख रुपैयाँ आम्दानी हुन्छ ।
पौडेलले आफूले मात्रै सुन्तला खेती गरेनन्, गाउँका अन्यलाई पनि खेती गर्न प्रेरित गरे । अभियानका साथ आफैं डोकोमा बोकेर घरघरमा सुन्तलाका बिरुवा पु¥याए । अहिले सोही गाउँमा मात्रै ५ करोड रुपैयाँभन्दा बढीको सुन्तला फलेको छ ।
व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका पणेनाका दामोदर गौतमले गत वर्षभन्दा यस वर्ष सुन्तला बढी फलेकाले करिब १४ लाख रुपैयाँको कारोबार हुने बताए ।
पाणिनी–२ पोखराथोकमा शीत भण्डार निर्माण भएपछि कृषकले यहाँको सुन्तला भण्डार पनि गरेका छन् । सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा राखेर बेमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री पनि गर्ने गरेको कृषक हरिप्रसाद पौडेलको भनाइ छ । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरू सबैले सुन्तला बेचेर जीवनस्तर सुधार गरेका हुन् । राजधानी दैनिक



