काठमाडौं । आज माघे संक्रान्ति, बिहान जाडो पनि हुने भएको हुँदा धेरैजना घरभित्र थिए ।
यस्तै, विकास बस्याल घरबाहिर घाम तापेर बसिराखेका थिए । उनले अचानक ठूलो आवाजसहित जहाज आँखै अगाडी सेती खोचको डिलमा बजारिएको देखे । ७२ जना बोकेको जहाज खस्नेबित्तिकै उनी गेट खोलेर दौडिए । उनी भन्छन्, ‘चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।’
आफू पुग्दासम्म अरु कोही पनि नपुगेको उनले जानकारी गराए । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखेको उनी बताउँछन् । बस्याल उनैतिर दौडिए । त्यहाँ पुगेर उनले केटीलाई तानें ।
उनका अनुसार सास चलिरहेको थियो । तर त्यहाँ यो सबै हुँदै गर्दा मानवतलाई गिज्याउने घटना पनि देखियो । विकासले त्यो केटीलाई पानी नदिनू भनिरहेका थिए तर अर्को एकजना आएर पानी खन्याए । ती व्यक्तिले पानी मात्रै नभएर माटो पनि हालेको उनलाई स्मरण छ ।
घटनास्थलमा १४–१५ जना थिए, तर धेरैजना भिडियो बनाउनमा व्यस्त देखिए । भएकामध्य धेरैजनाको ध्यान घाइतेको उद्धारतर्फ नभएको विकास बताउँछन् । उनले भने, ‘प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे ।
उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।’ आफूले केहीलाई डिलबाट ज्युँदै निकालेको भन्दै उनले भनेका छन्, ‘बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् ।
सबै भिडियो बनाएर बसे ।’ पोखरा नजिक आइतबार बिहान ठूलो विमान दुर्घटना भएको हो । काठमाडौंबाट २०५ किलोमिटर टाढा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भयो ।
दुर्घटनाग्रस्त विमान एटीआर–७२ थियो, जसमा ६८ यात्रु र चार चालक दलका सदस्य थिए । अवतरण हुनुभन्दा १० सेकेण्ड अघि विमान पहाडमा खस्यो, जसकारण विमानमा आगो लाग्यो ।
विमानको भग्नावशेषबाट ६८ जनाको शव निकालिएको छ । तर, दुर्घटनामा कोही पनि बाँच्न नसकेको बताइएके छ । अहिलेसम्म पाँच जनाको मात्रै शव पहिचान भएको छ । बाँकी शवको पहिचान गर्न गाह्रो छ । विमानमा सवार अन्य चार जना भने फेला परेका छैनन् ।