रुपन्देही । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेकी छन् । उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् । शनिवार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा उनलाई पार्टी प्रवेश गराउन सो पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र गौतम रुपन्देही आइसकेका छन् ।
यो विषयलाई शुक्रवारसम्म गोप्य राख्न खोजिए पनि सो पार्टी निकट एक नेताले यसको पुष्टि गरेका छन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।
एलिजा गौतम निकट एकजनाले उनलाई तत्काल पार्टी प्रवेश गराएर उन्मुक्ति सरकारमा गए मन्त्री बनाउनेसम्मको आन्तरिक समझदारी बनेको छ । उन्मुक्तिले पाएको कोटामा एलिजा मन्त्री बन्ने सम्भावना छ, सांसद नभएपनि ६ महिना मन्त्री बन्ने कानुनी व्यवस्था छ, सायद यही आधारमै उहाँ प्रवेश गर्न लागेको मैले बुझेको छु’ उनले भने ।
नागरिक उन्मुक्तिले पार्टीको उपाध्यक्ष नै बनाउने गरी एलिजालाई प्रवेश गराउन लागेको सो पार्टी निकट स्रोतले बताएको छ । गौतम र रायसहित अन्य व्यक्तिहरू पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ ।