Saturday, October 5, 2024
समाजगाउँ रित्तिए, बजार भरिए

गाउँ रित्तिए, बजार भरिए

ढोरपाटन: एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।

स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ ।

अहिले जिल्लाको निसीखोलाको निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयतका ठाउँ बजारमा परिणत हुँदैछन् । गाउँमा विस्तारै विकासले गति लिँदै गए पनि गाउँ छाड्नेहरू रोकिन सकेका छैनन् । विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थालेपछि गाउँ रित्तिँदै छन् भने बजार भरिँदै गएका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोलाबाट पछिल्लो समय बसाइँसराइ गर्ने बढेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

पहिले गाउँमा सामान्य सुविधा नहुँदा स्थानीय बाध्यताले बजार झर्ने गरेको भन्दै अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने संस्कृति बन्दै गएको उनले बताए । खासगरी तमानखोलाबाट बुर्तिबाङ बजार झर्नेको सङ्ख्या ठूलो छ । त्योसँगै पोखरा, काठमाडौँ, बुटवलका ठाउँमा स्थानीय बसाइँसराइ गरी गाउँ छाड्ने गरेको अध्यक्ष बुढामगरको भनाइ छ । उनले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई न्यूनतम विकास र आयआर्जनसँग जोड्ने गरी कामको सुरुआत गरेको बताए ।

“बसाइँसराइ गर्ने मुख्य कारण त गाउँमा राम्रो सेवा सुविधा नहुनु नै हो, तर पहिलेको तुलनामा अहिले हरेक गाउँमा विकास पुगेको छ, सामान्य नागरिक विकाससँग जोडिएको छ । अहिलेको अवस्था हेर्दा हुँदा खानेभन्दा हुनेखानेहरू नै बजार झरेका छन्”, अध्यक्ष बुढामगरले भने , “अहिलेका मान्छेहरूले विदेशमै गएर भए पनि दुई–चार पैसा कमाउन थाले, सहरबजार बुझे त्यही भएर बजार झर्न थाले, बजार झर्ने त अहिले ‘फेशन’जस्तो भइसक्यो ।”

ग्रामीण भेगबाट स्थानीय ठूला सहरमात्रै होइन, भर्खरै विस्तार हुँदै गरेका बजारमा पनि बसाइँसराइ गरेर आउन थालेका छन् । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजारमा दिनदिनै बसाइँसराइ गरी आउनेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोटमा बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । यहाँका थुप्रै गाउँ सुनसान बन्दै गएको गलकोटन नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार गलकोट नगरपालिका–१, २, ५, ६, ७ र ८ बाट बसाइँसराइ हरेक दिन बढ्दै गएको छ । खासगरी क्षेत्री र ब्राह्मण समुदाय बढी भएको गाउँबाट बसाइँसराइ बढी हुने गरेको प्रवक्ता भण्डारीले बताए । यहाँका अधिकांश युवा जापान रहेका छन् भने केही अमेरिका र केही खाडी मुलुकमा रहेको भण्डारीको भनाइ छ । विकासको मुख्य मेरुदण्ड शिक्षा र स्वास्थ्य भएको भन्दै नगरपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

भण्डारी भन्छन , “हामीहरूले गाउँमा विकास गरिराखेका छौँ, स्थानीय गाउँ छाड्दै बजार झरिरहेका छन्, दलित र जनजाति बसोबास भएको बस्तीमा बसाइँसराइ कम छ भने ब्राह्मण र क्षेत्री भएको गाउँ रित्तिनै लागेको छ, जनताति र दलित समुदाय भएको बस्ती बाक्लो उनीहरू गाउँमै रमाएर बस्न चाहन्छन्, ब्राह्मण र क्षेत्री विदेश जाने, कमाउने र सहरबजारमा घर बनाउने गर्छन्, यहाँका अधिकांश मान्छे पोखरा, चितवन र काठमाडौँ छन्, केहीले यही गलकोट बजारमा घर बनाएर बस्छन् ।”

गलकोट नगरपालिका–७ टोकरीगाउँ, बरेखानीलगायतका गाउँ अहिले सुनसान छन् । गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँमा भएका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्ने कोही नभएको स्थानीय विष्णु थापाले बताईन । विदेशमा राम्रो कमाइ हुने हुँदा १० कक्षा पास गरेर युवाहरू विदेशिने र विदेशबाट फर्किएर परिवारलाई बजार झार्ने गरेको सुनाईन ।

स्थानीय चन्द्रबहादुर सुनारले सरकारले गाउँमा गुणस्तरीय सेवा नपु¥याएसम्म बसाइँसराइ नरोकिने बताउनुभयो । पछिल्लो केही वर्षयता गाउँ छाड्नेको सङ्ख्या दोब्बर÷तेब्बरले बढेको उनको भनाइ छ । बसाइँसराइले गाउँ रित्तिने र बजार भरिने हुँदा उत्पादनमा समेत कमी आउने उनि बताउछिन । सुनारले अहिले गाउँका खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको र खोलाका बगरमा ठूलाठूला घर भवन बन्ने गरेको बताईन।

उनि भन्छिन , “गाउँ त खाली भइसक्यो, बजारमा बस्नेले उत्पादन गर्दैनन्, उत्पादन गर्ने त गाउँले नै हो, गाउँले जति बजारिया बन्न थाले, धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिए, अब कसरी समृद्ध हुन्छ हाम्रो देश, गाउँमा अहिले हेर्नुहुन्छ भने युवा कोही छैन, घर सबै खाली छन्, गाउँ अहिले रमाइलो छैन, उराठिलो बनेको छ ।”

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img