मकवानपुर: ‘महायज्ञको प्रभावः सामाजिक सद्भाव’ भन्ने मूल नाराका साथ हेटौंडाको राप्तीतटमा बैशाख २० गतेदेखि सुरु भएको पाँचवर्षीय विराट महायज्ञ सम्पन्न भएको छ । गोरक्षेश्वर क्षेत्र विकास समितिले आयोजना गरेको महायज्ञ बैशाख २६ गते मंगलबार सम्पन्न भएको हो ।
महायज्ञ सोचेभन्दा पनि भव्यताका साथ सम्पन्न भएको आयोजकको भनाई छ । महायज्ञमा देशभरका भक्तजनहरु आएको समितिले जनाएको छ ।
महायज्ञमा पहिलो दिन २२ हजार भक्तजनहरुको उस्पस्थितका साथ शान्ति शोभा कलशयात्राले हेटौंडा नगर परिक्रमा गरिएको थियो । कलशयात्रामा एउटै सारी र धोतीले सजिएका हजारौं महिला उपस्थित भएका थिए । २५ हजार महिलालाई एकैनासका सारी र धोती वितरण गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले जानकारी दिए ।
वरिष्ठ सह–संयोजक उत्तम शर्मा ढकालले सवापाँच करोड दीप प्रज्वलन गरिने भनिएता पनि दश करोडभन्दा बढी संकलन भएको र १० हजार भक्तजनको उपस्थितिमा भव्यताका साथ राप्तीतटमा दीप प्रज्वलन गरिएको बताए ।
महायज्ञमा बैशाख २१, २२ र २३ गते प्रत्येक दिन २ हजार ५ सयदेखि ३ हजार भक्तजनको उपस्थिति रहेको बताइएको छ । २४ गते ६ हजार, २५ गते ११ हजार र २६ गते ५ हजार भक्तजनहरु सहभागी रहेको अनुमान गरिएको महासचिव हयग्रीव आचार्यले बताए । उनले अरु महायज्ञभन्दा यो महायज्ञ निकै फरक भएको जानकारी दिए । उनले भने– ‘यो महायज्ञ दिने महायज्ञ हो लिने हैन ।’ उनले नेपालमा अहिलेसम्म नगरिएको दीप प्रज्वलन यस महायज्ञले गरेको पनि बताए ।
मंगलबारबाट राप्ती किनारमा दैनिक नित्य आरती सुरु गरिएको समितिका सहसचिव आचार्यले जानकारी दिए । आरती दैनिक बेलुकी ५ बजे गरिने उनले बताए ।
महायज्ञ अवधिभर हजारौं भक्तिमयी मातृशक्तिहरूबाट शान्तिशोभा कलशयात्रा शंखघण्ट, पञ्चेबाजा, डाण्डिया नृत्य, झाँकी, खैंजडी भजन, योगाभ्यास, करोडौं दीप प्रज्वलन, महाआरती विशेष नृत्यलगायतका कार्यक्रम भएको छ । हेटौंडामा नयाँ वर्ष शुभकामना विराट ज्ञान महायज्ञ प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको छ ।