धादिङ— आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा एक बाबु पक्राउ परेका छन् । मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका हुन्।
धादिङको धुनिवेँशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।
त्यसैक्रमा १७ वर्षीय छोरीमाथि पटक-पटक जबरजस्ती करणी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङकाले जनाएको छ ।
पटक-पटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।
घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले शुक्रबार तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए ।